देश बिग्रनु, यादव मदिरा पिई घमण्ड, मुसलको पेट बोकी कौशिकको श्राप,
आपुसमा मार, बलदेव कृष्णको स्वर्ग भै वसुदेव देवलोक, अर्जुन द्वारकाबाट आउदा गण्डीव व्यर्थ भै स्त्रीहरू भिल्लले हर्नु, कोही तपस्वी सती भइ बाँकीको बन्दोवस्त, सन्तापे

महाभारत युद्धका पछि अनी यादव्रूको तहाँ ।
श्रीयै नष्ट हुँदै गयो किनभने शत्रूहरूको वहाँ ।।
डर्भर् कत्ति भएन है जति थिए बल्वान शत्रू ।
माहाभारत युद्धमै मरिसके यो हेतु डर् गो वहाँ ।।१।।

नीश्चिन्तीत सबै भए तिनिहरू आहारवीहार् जति ।
लागे गर्न खराब काम् मनपरी खाई सराबै अति ।।
छोटापन् र बडापनै मिटिगयो सब् एकनाशै परी ।
लागे चल्न अनी कली प्रकट भो इच्छा प्रभूले गरी ।।२।।

जो थीयो मन ऊहि भो यदुहरू नास्को भयो चाल् गति ।
बल्वान् येदहरू कऊन् जितदथ्यो सानातिना राज् जति ।।
वीर्वीर् भारत युद्धमा मरिसके साम्राज्य एकै गरी ।
स्थापित् भै सकियो त कारण पनि पैल्हे सबै देश्भरी ।।३।।

सानूतीनु स्वतन्त्र हेर नृपती थिए प्रतापी यहाँ ।
तीनी नाश हुँदा गएर विर ता स्वच्छन्दपूर्वक्महाँ ।।
सारा ती यदुवंशिले डर नभै कुकाम लीए चलन् ।
लागे घूमन मन्परी गरिगरी को गर्दथ्यो ठीक् यतन् ।।४।।

देश्मा वीर कला र कौशल अनी क्षीणै हुँदैगो यहाँ ।
उल्टो भो पनि काल् प्रभाव् बुझ सबै फेर् बन्दथ्यो देश् कहाँ ।।
यादवेहरू भए ति दूरव्यसनी विद्वान्हरूको जहाँ ।
छाडे आदर भाव गर्न ति सबै पीई मदीरा तहाँ ।।५।।

न्यायै युधिष्ठिर गरी पनि राज् चलाई ।
गर्नूभयो छतिस वर्ष उता रजाईँ ।।
तेस्का पछी सकल देश्भरि वीपरीत ।
बढ्दै गयो कहुँ कती अति घोरसीत ।।६।।

द्वारावती तिर भने यदुवंशि धेर ।
लागे उपद्रव मचाउन दुःख देर ।।
थिए पराक्रमि अती उनमाद भेर ।
छोडे ति टेर्न मुनि ब्राम्हणलाई फेर ।।७।।

लाग्यो हुनै बहुत दुख् तिनिलाई त्रास ।
इच्छा भयो श्रिप्रभुको कुल गर्न नाश ।।
बिग्रन्छ उन्मत भई दिन एक फेर ।
श्रकृष्णका पुतर साम्बजिको लिएर ।।८।।

पेट्मा लगाइ कपडा खुब बाँधिदेर ।
गर्भावती स्त्रीइ झईँ सब ठीक् गरेर ।।
चोलो र सारि टिकुली तहिँ लाइदेर ।
कौशिक् ऋषीसँग लगे डर लाज् नलेर ।।९।।

सोधे ऋषे गरभिणी यिनको छ पेट ।
के जन्मला भन्नुहोस् भइगो त भेट ।।
ठट्टै गरे ति यसरी ऋषिले बुझेर ।
आएछ नाश् भन्नुभो अति क्रोध् गरेर ।।१०।।

बोले यसै उदरमा कुलको सँघार ।
जन्मन्छ मूसल सबै तिमरो प्रहार ।।
भोगीसक्यो बुझ यहाँ तब बात यस्तो ।
बुद्धी ठुलो भइ गर्यौ म भनूँ त कस्तो ।।११।।

वीनाशको बखतमा पनि काल चाल ।
बिग्रीगयौ रचिरची गरि जाल हाल ।।
बिग्रन्छ आपुसमहाँ घर नाशि बुद्धि ।
चल्दैन जोर् कसइको नरहेर सुद्धि ।।१२।।

यस्तो वचन् सुनि तहाँ मुनिको त फन्द ।
उत्रीगयो सकल यादवको घमण्ड ।।
श्रीकृष्णका हजुरमा फिरि श्रापधारा ।
विन्ती गरे खुरुखुरू सब रोइ सारा ।।१३।।

आज्ञा भयो श्रिप्रभुले त समुन्द्रवार ।
लैजाउ घोट मुसलै सब चुर्ण पार ।।
हूकुम्सरी मुसलको खुब चूर्ण पारे ।
सीयो झइँ रहिगयो नसकेर हारे ।।१४।।

फ्याँकेर क्यै खुस भए सुन भाइ याहाँ ।
काल्को कराल गति टारिन सक्छ काहाँ ।।
तर्वार झैँ उ चुरका रुख उभ्रि पात ।
लेथे ति यादव लडी उहिऊहि हात ।।१५।।

उन्माद् भै हँसि दिल् गरी गरि अती साना कुरामा वहाँ ।
लागे आपुसमा लडाइँ झगरा गर्नै तिनीले तहाँ ।।
श्रीबल्रामजिले र कृष्ण प्रभुले यादव् सुधार्नै अनि ।
ठूलो कोसिस धेर भो भय दिई जो खान्छ सूरा पनि ।।१६।।

होला दण्ड भनर डुग्डुगि पिटे त्यो हीतबात् छोडदी ।
मानेनन् रतिभर् ति यादवहरू आएर नाश् त्यो घडी ।।
बुझ्ू भो तब नाशिने बखत भो सम्झेर मनमा हरि ।
वीचार् गर्नुभयो घुमुन् तिरथ सब् भन्ने इरादा धरी ।।१७।।

आज्ञा भो तहिँ कारणै तिरथमा बस्छन् महातमा गई ।
सायद् यादवहरुको मति गती सत्सङ्ग ताहाँ भई ।।
सुधेला कि भनी पठाउनु भयो झन् बात उल्टो परी ।
आयो सम्मति कृष्णले लिई हिंडे यादव् र वृष्णी थरी ।।१८।।

पौंचे अन्धकवंशि हरु त सबै संमुन्द्रका तीर् भरी ।
पूगे तीनि प्रभास तीर्थ हरिको को बुझ्न सक्छन् गति ।।
इच्छा ईश्वरको छ है बलवती सोतन्त्र ली झन् गति ।
बल्राम् कृष्णजिका त सामु मदिरा पीए तिनी खूब् अति ।।१९।।

लागे आपुसमा उधूम् गरनै झग्रा बिकाम्को लडी ।
यो रीत्को तिनि यादवादिहरुको बुद्धी डढेलो डढी ।।
दुखी भै बलराम जानु पनि भो त्यागेर त्यो ठाम् बढी ।
हिँड्नुभो जब सात्यिकी झन पिए सूरा बहूतै चढी ।।२०।।

उफ्रीउफ्रि ति कृत्वरमकन तहाँ देखाइ औँला धरी ।
बोले यो खुब पापि हो सब जना लौ सून राम्रो गरी ।।
सूतेका सबलाई मारि यसले वीर् हूँ भनी यो घडी ।
लाग्यो हिँड्न भनेर खै अति गरे पीई नसाले लडी ।।२१।।

कृत्वर्मा पनि मत्त है खुब थिए क्रोधले ति उत्तर् गरी ।
बोले रे विर होस तैँ कुन यहाँ हे मूर्ख वीर्को सरी ।।
तैँले के पनि काम् गरिस् र अहिले बोल्छस् घमण्डै लिई ।
रेरे मूर्ख भुरिश्रवा वध गरिस् शस्त्रै पनि त्याग् दिई ।।२२।।

खाली हात् बसने त मानिसकनै तैँले अहा ज्यान् लिइस् ।
तेरो के छ विरत्व लौ भन न भन् के काम ठूलो गरिस् ।।
भन्दै दौडि तहाँ ति सात्यिकि पनि श्रीकृष्ण साम्नै गई ।
हाने त्यै असिपत्रले शिरमहाँ टुक्टुक् भयो चूर् भई ।।२३।।

बज्रैको सरि बाण लागि अघि ता गिर्थे फुलै झैँ कति ।
उस्ताको पनि तृणले वध भयो काल्को अपारै गती ।।
गीरे पृथिविमा जसै उहिघडी तर्बार् घुमाई गई ।
मारे फेर् अरु भाइलाई तिनका सातयीकिले क्रोध् भई ।।२४।।

साथी फेर् कृतवर्मका चुर परी तरवार उठाई तहाँ ।
ठूलो युद्ध गरे ति यादवहरू सङ्ग्राम् घोर्महाँ ।।
एक्एक् सब् विर मारिए जति थिए प्रद्युम्न साम्बैहरू ।
ठूला वीर् अनिरद्ध आदि जतिको देखेर मर्नै अरू ।।२५।।

साह्रै क्रोध भएर कृष्ण प्रभुले जो शेष बाँकी वहाँ ।
तिए ती सबलाई मारनुभयो बाँकी रहन्थे कहाँ ।।
माटो ज्यान् पनि पट्टिमै लडि गिरे सात्हियक आदी तहाँ ।
केवल् कृष्ण र सारथी श्रीप्रभुकै बाँचे उ दीनै महाँ ।।२६।।

यादव् को सब मर्ण देखि हरिले क्यै बेर तक् खूब् गरी ।
वीचार् गर्नुभयो खडा रहिरही तसबिर् समानै परी ।।
कालैको गति ता विचित्र छ अती सम्झी मनै मनमहाँ ।
दारुक्लाइ अनी श्रिकृष्णप्रभुले आज्ञाभयो यो तहाँ ।।२७।।

हे दारुक् तिमि हस्तिनापुर गई पाण्डवहरू सङ्महाँ ।
सारा यादव नाशको खबर यो दिएर तिम्ले तहाँ ।।
साथमा अर्जुनलाई लिई झटपट् श्रीद्वारकाजी महाँ ।
ल्याई यादवका स्त्रीहरु सबको गर्नू सपुर्दै वहाँ ।।२८।।

सुम्पीदीनु भनी सुनी वचन यो शोक् लीइ दारुक् उठी ।
हस्तिनापुरका तरफ् चलिगए फेर् कृष्ण ऊठीउठी ।।
तेतेबाट पनि वनै तरफमा घूसेर येताउति ।
खोज्नुभो बलरामको नमिलि फेर् मनमा त पैहा छुटी ।।२९।।

दिक् भै घोर् वनमा त झन् घुमनुभो साक्षात् रमाका पति ।
एक् ठाम्मा रख आड् गरेर बलराम् श्रीयोगनिद्रा गति ।।
देखी मसत तहाँ बुलाउनुभयो श्रीकृष्णले ता अति ।
ठूलो सोर गरी गरी भन्नुभो हे दाजु भन्दै कति ।।३०।।

जहाँतक् म त जान्छु ताहिँ हजुरै बसनोस द्वार्कापति ।
जान्छू स्त्रीहरको प्रबन्ध गरने रक्षानिमित्तक् भनी ।।
यस्तो बिन्ति गरेर चल्नु पनि भो श्रीकृष्ण द्वार्कामहाँ ।।
पीताका सँगमा गएर हरिले भन्नूभयो फेर् तहाँ ।।३१।।

हे बाबा सब यादवादिहरुको नाशै भईगो हरे ।
भारत्मा पहिल्यै असङ्ख्य जन धेर् राजा र कौरव् मरे ।।
ऐल्हे यादबको कुलै सब मरी देख्छु म सुत्तै भयो ।
यो द्वार्का पुरिमा बसीरहनुको इच्छा त टुटी गयो ।।३२।।

जहाँ तक् अरजुन् न आउन यहाँ तब्तक हजुर्ले रही ।
यो सारा पुरि फेरि स्त्री सकलको रक्षा त गर्नोस् यहीँ ।।
जान्छू मै बलराम छन् बनमाहाँ यो अर्थ चाँडै तहीँ ।
आँखा दाउजि हेरदा पनि हुनन् बाटो ति मेरो बहीँ ।।३३।।

हे बाबा वनवासि भै अब रही जीवन् म काट्छू तहीँ ।
राधाका पति कृष्णले उस घडी यो बात ताहाँ कही ।।
पीताजीकन ढोगि उत्तर पनि केही नसूनी ।
घर्देखी चुपचाप निस्कनुभयो बाटो लि जङ्गल्महाँ ।।३४।।

जानूभो प्रभु कृष्णलाई सबले देखे हिँडेको अनि ।
द्वार्कावासि मनुष्य बालख बुढा स्त्रीहरु सब्ले पनि ।।
दौडे श्रीभगवानको पछिपछि रोई कराई तहाँ ।
तीनीतर्फ फिराइ मूख हरिले आज्ञा भयो फेर् वहाँ ।।३५।।

चाँडै अर्जुन आउँछन् यसतरफ् तिम्रा दुखैको पनि ।
दूर् गर्नेछन ऊनिले बुझ भनी श्रीकृष्णजि ता अनि ।।
जल्दीजल्दि तहाँ चलेर बलराम्ज्यूको समिप्मा गई ।
पुग्नूभो बलरामजी पनि थिए अन्त्यै अवस्था भई ।।३६।।

योग्निद्रा गरि ब्रह्ममा पुगनु भो शेष्मा विलीनै बनी ।
ऊडी हंस पुग्यो कलेवर पनि बद्लेर ताहाँ ।।
कृष्णैले तब फेर् कलेवर उहीँ छोडेर वन्वन् गई ।
एक्लै घूमन लाग्नु भो हरि तहाँ अत्यन्त व्याकुल् भई ।।३७।।

जन्मैदेखि लिएर त्यो समय तक् घट्ना बित्यो जो गरी ।
माहाभारत भै मनुष्य विरवीर् संहार सबको परी ।।
अद्भुत् त्यो गतिको विचित्र महिमा मनमा विचारी तहाँ ।
बस्नूभै पृथिवी विषे प्रभु पनि व्याकुल् भई दिल् तहाँ ।।३८।।

यो संसार असार दुख्मय जगत् त्याग्ने इरादा लिई ।
गर्नू भो सुकला तहीं पृथिवीमा श्रीकृष्णले ध्यान् दिई ।।
ब्रम्हाण्डै बिच प्राण वायु त खिची योगध्यानमा दी तन् ।
ऊपर्खुट्टि गरी शयन् गरनुभो खैँचेर सारा मन ।।३९।।

बूढी अङ्गुलि जो अलीअलि तहीँ हल्लाइ राजै थियो ।
तेहीँ नाम जरा उ व्याध घुमथ्यो दूर्बाट देखी लियो ।।
मूसल्को टुकरा सियोसरि जउन् फ्याँकीदियाको थियो ।
त्यो टुक्रा पनि मच्छिका उदरमा तेस्ले त पाईलियो ।।४०।।

तेस्को काँढ बनाइ त्यो धनुमहाँ थीयो करैमा धरी ।
दूर् देखी मृगकै त सम्झिकन कान् ताकेर जोर्ले गरी ।।
हान्यो तीर् तहिँ कृष्णका चरणमा रक्तै बग्यो तीर् गडी ।
धाराको सरि भल् बग्यो रगतको त्यो व्याध झट्पट् बढी ।।४१।।

आयो है मृगलाई लीन नजिकै देखेर कृष्णै हरि ।
साह्रै भूल भयो भनी डरिडरी काँपेर त्यो थर्थरी ।।
पश्चाताप भयो क्षमापन तहाँ हात् जोरि विन्ती गरी ।
माग्यो माफ् पनि बारबार उसले भन्नूभयो श्रीहरि ।।४२।।

अङ्गद् होस् अघिको तँ राम अवतार्  हूँदा मईले पनि ।
बाफ्वैरी तहिँ साध्नलाई वरदान् देथेँ खुसीले भनी ।।
हे व्याधा डर क्यै नमान तइँले जो हुनु हो सो परी ।
आयो भैपरि माफ् तँलाई त दिएँ दोष् छैन रत्तीभरि ।।४३।।

आज्ञा यो गरि कृष्णले उहिघडी योगाग्नि धपधप गरी ।
सल्काईकन प्राणवायु त खिँची ब्रम्हाण्ड फोरी उडी ।।
हंसै गो गउलोक् कलेवर तहाँ छोड्नूभयो श्रीहरि ।
दारुकले त उता श्रीपाण्डवकनै संहार आफैँ लडी ।।४४।।

सारा यादवको भयो भनि खबर् दीएर धेर् शोक् गरे ।
पाण्डवेहरू बहूत विह्वल भई मनमा उदासै परे ।।
कृष्णैका तहिँ मित्र अर्जुन अनी झट्पट् रथैमा चढी ।
द्वार्कामा समचार् सुनी झट पुगे हावा समान् भै बढी ।।४५।।

कृष्णेका प्रिय मित्र अर्जुन पनि आए भनी फेर् गुनी ।
बूढा बालख स्त्री पुरूष सबले भेट् गर्नलाई सुनी ।।
आए रोइ ति सम्मुखै सब जना खूब् आर्तनादै गरी ।
देखी अर्जुनजी पनि धुरुधुरू रोए ति दिक्दार् परि ।।४६।।

स्वर्गारोहण कृष्णको श्रि वसुदेव् सूनेर भोजन् त्यजी ।
वोछान्मै त थिए नखाइ तिनिले राम्नाम मनमा भजी ।।
साह्रै निर्बल थिए तब तहाँ पूगेर अर्जुन् अनि ।
आफ्नू नाम सुनाइ पाउ दुईमा न्यूहेर ढोगे पनि ।।४७।।

माथमा सूँघनलाई अर्जुनजिको उठ्नै सकेनन् तहाँ ।
सूती सूँघि कहे तहाँ श्रि वसुदेव् श्रीकृष्णले वन्महाँ ।।
जाँदा जो पनि भन्नुभो सब कुरा विस्तार एक्एक् गरी ।
आज्ञाभो अनि फेर् तहाँ श्रिवसुदेव् हे पार्थ छौ प्राण्सरी ।।४८।।

मेरो पुत्र श्रि कृष्णजी पनि यहाँ काहाँ गए यो घडी ।
जस्ले केशि र कंश फेर शिशुपाल् आदी ठुला वीर् लडी ।।
मारे शत्रु अघी जितेर तिनिले ऐल्हे ति सम्मुख् हरि ।
यादव् नाश हुँदा बचाउन भने सक्दैनथे के गरी ।।४९।।

यो कारण् मनमा बुझिन्छ हरिले यादव् विनाश्ने परी ।
जानिबूझि समर् पनि हुन दिए यादव्हरू सब् मरी ।।
हे अर्जुन् अब स्त्रीहरू र म यहाँ तिम्रा शरण् छौँ सबै ।
आधीन् छौँ सुन भाग्य हामिहरुको हूँदा त आयौ अबै ।।५०।।

याहाँ कृष्णजिले त जङ्गलमहाँ जाने बखत् यै कही ।
हीँडे बात् गर पूर्ण सब् शरण ली भन्नूभयो है तहीँ ।।
यस्तो बात सुनेर नम्रित बनी अर्जून बोले वहीँ ।
हे मामा यिनि वृष्णि अन्धक पनि जो छन् यि वंशै यहीँ ।।५१।।

तिन्का स्त्री र पुरूष जो जिवित छन् ली इन्द्रप्रस्थैमहाँ ।
मामा जान्छु म लौ तहाँ तर अहो जो दुर्घटै भो यहाँ ।।
देख्दा पाण्डव यादवादि सबको अन्त्यै नजीकै परी ।
आयाको बुझिइन्छ कृष्णजि गए हाम्रो पनि प्राण्सरी ।।५२।।

अन्तस्कर्ण थिए हरी विनु कसो बाँचिन्छ पाखा परी ।
माछा मर्छ जसोरि है जलविना उस्तै भयौँ यो घरी ।।
यस्तो बात भनेर अर्जुन उठी दिक्दार सारै गरी ।
कृष्णैको दरबार् गए नजरले देखे मसान्कै सरी ।।५३।।

शून्यै भै प्रभुलाई सम्झि धुरुधूर् रोए ति धेर् शोक् गरी ।
सम्पूर्णै प्रभुकृष्णका स्त्री अरु फेर् दर्बार भित्रै भरी ।।
रोए रुक्मिनि पट्टरानिहरु झन् श्री सत्यभामा अति ।
वीलाप् खूब् गरि आर्तनाद स्वरले रोए कलेजा फटी ।।५४।।

अर्जुनको हृदयै भयो चुर तहाँ दर्बारमा रात् कटी ।
बीती ब्यान्ह हुँदै पनि श्रिवसुदेव् संसार् असार्कै गति ।।
काटी बन्धन जानुभो स्वरगमा स्त्रीहरु तिन्का सती ।
ताहाँ हेर गए विलाप् खुब गरे दर्बारका स्त्री जति ।।५५।।

हाहाकार गरे मनै त चिरने शोक् गर्न लागे तहाँ ।
साह्रै मुश्किलले त सँभ्लि अरजुन् तिनको बुझाई वहाँ ।।
दाहा फेर् वसुदेवको गरि सकी प्रेतकर्म जो सत्गति ।
दिद्ध्याई अरजुन् प्रभास् तिरथमा पौँचे ति चाँडै अति ।।५६।।

देखी यादव मृत्यु शोक् खुब गरे वर्णन् गरूँ धेर् कति ।
तिनलाई पनि सब् जलाई अरजुन् बल्राम फेर् श्रीपति ।।
कृष्णैको तहिँ खोज् कलेवर गरे ढुँडी सबै वन्भरि ।
पाईयो गरि प्रेम् कलेवरमहाँ हाले अँगालो धरी ।।५७।।

रोई फेर् विधिले सुगन्ध अगरू चन्दन् कपुर् घ्यू अनि ।
सारा रेसमि वस्त्र झल्झल जरी रत्नै जडित् पनि ।।
चीज् हालेर अमूल्य सत्गति गरी सात् दीन पश्चात् अनि ।
यादवका विधवा स्त्रीहरु लि हिँडे अर्जून डिल्ली पनि ।।५८।।

एकेक् रानि सवारिका वरिपरी रक्षक् थिए सङ् खडी ।
नाना वाहनमा चढेर सबले आलाप्विलाप् त्यो घडी ।।
गर्दै अर्जुनका पछीपछि चले रूँदै ठुलो स्वर्महाँ ।
पाहाड् वन् मरुथल् नदीहरु अनेक् नाघ्दै चले ती वहाँ ।।५९।।

राम्रो खूब् रमणीय बासहरुमा गर्दै ति डेरा तसै ।
मार्वार् फेर् पनजाफका बिच नजिक् आए सिमाना जसै ।।
डाँकूको दल भिल्हरू पनि मिल्यो धन् स्त्रीइ लाल्चामहाँ ।
सम्पूर्णै तिनि स्त्रीहरूकन पनि चार्तर्फ घेरे वहाँ ।।६०।।

बोकी धेर लगे स्त्रीहरु भिलले डर्भर् न केही लिई ।
गाण्डीवमा मिहनत् गरेर अरजुन् ताँदो कसे बल् दिई ।।
बाँधे कीनभने अघी झइँ भुजा थीएन जोर्दार् कति ।
ताँदोलाई चढाइ क्यै सुरतले छोडे ति बाण् धेर् अति ।।६१।।

आहाहा तर त्यो निशान असफल् लाग्दैन लागी तहाँ ।
खेरै गो अरजूनले जुन अघी द्यौता र दानव् जहाँ ।।
जित्थे हार भयो विचित्र छ गती बुझ्नै नसक्ने कति ।
मोटा लठ्ठि सिवाय डाँकुहरुसङ् थीएन अर्थोक् रति ।।६२।।

सारा रक्षकलाई लठ्ठि भिलले लागे ति मार्नै तहाँ ।
घूमीघूमि विकल् गरे ति सबको हानेर लठ्ठीवहाँ ।।
बाणको निष्फल भो र अर्जुनजिले गाण्डिव् धनुष्को अनि ।
टुप्पोले तहिँ लठ्ठिकै सरि गरी लागे ति हान्नै पनि ।।६३।।

हुन्थ्यो के उसले भयो विफल त्यो डाँकू बलात्कार्महाँ ।
कृष्णैका पटरानि बाहिक कती स्त्री लीइ भागे तहाँ ।
कोईकोइ त कामले पिडित भैँ खुस्ले गए खुर्खुरी ।
बाँकी जो बचतै लिएर अरजुन् आए ति डिल्लीपुरी ।।६४।।

सब्का सङ् मिलि वाहिँ रुक्मिणिजि फेर् श्रीसत्यभामा तहाँ ।
हीमालेय शिखर् गई तपसमा अङ्गै भिजाई वहाँ ।।
पार् पूगे अरु रानि क्वै सति गए चीतामहाँ नै जरी ।
गङ्गामा कतिले डुबीकन मरे तन्मन् हरीमै धरी ।।६५।।

बाकीलाई त इन्द्रप्रस्थ पुरिमा अर्र्जूनले राम्ररी ।
इच्छा माफिक धन् जमीन् घर दिई राखे ति खूसै गरी ।।
हीँडे अर्जुन व्यासको त कुटि फेर् मन् भै मलिन् दिक् परी ।
पौँचे आश्रममा श्रिव्यासमुनिका ढोगे ति सम्मुख् सरी ।।६६।।

अर्जुनले बसि दिक् नजर् भरिभरी आँसू बहूतै झरी ।
तिन्ले श्रीप्रभुकृष्णको त परलोक् फेर् आफु सङ्ग्राम् गरी ।।
हारेको तहिँ डाँकुले स्त्रीहरुको हर्दै लगेको परी ।।
सारा बात् विनती गरे सब कुरा विस्तार एक्एक् गरी ।।६७।।

सम्चार् सूनिलिएर व्यासमुनिले आज्ञा भयो त्यो घडी ।
आयो अर्जुन धीर् रहू अब सबै अन्त्यै विपत्को बढी ।।
यो कारण् नभुलेर भाइ सबले राम्रोरि सल्हा गरी ।
माहापन्थ गमन् हुने बुझ बखत् कल्याण् छ अम्मृत्सरी ।।६८।।

यस्देखी बढता छईन अरु थोक् भन्ने ति उप्देश् सुनी ।
ढोगी दी मुनि व्यासलाई तिनिले यै बात गूनीगुनी ।।
डिल्लीमा अरजुन् फिरी चरणमा यूधिष्ठिरैका परे ।
विन्ती फेर् तहिँ एकएक् तिनि गरे सूनी सबै दिक् धरे ।।६९।।

यूधिष्ठिरै नृप अनी सब भाइ हेरी ।
आज्ञा भयो जनम यो नहिँ मिल्छ फेरी ।।
भुल्नै हुँदैन अब ता बुझि गुन बात ।
चोला मनुष्यहरुको मणि यो त गाथ ।।७०।।

भज्दैन जो यस जनम् प्रभुलाई अन्धा ।
संसारका बिचमहाँ उहि पर्छ फन्दा ।।
दृष्टान्त एक सुनिलेउ तिम्हेरु बात ।
एक् धर्मि ब्राम्हण थिए दुखि बेस जात ।।७१।।

तिन्का घरै कुन दिनै यक आइ योगी ।
सत्कार् गरी खुस गरे दुखि तीनि सोगी ।।
देखेर ब्राम्हणकनै यक झोलि देखी ।
पारस्मणी झिकि दिए हरधातु सेखी ।।७२।।

पार्नेछ यो मणि छुवाइ सुवर्ण होला ।
यो राख एक महिना तक दुःखि चोला ।।
छूटाउ ब्राम्हण फलाममहाँ छुवाई ।
दान् पुण्य खुब् गर चयन् दुख यो छुटाई ।।७३।।

लैजान्छु एक महिनापछि फेर आई ।
जान्छु म ब्राम्हण बसी सुख लेउ भाइ ।।
यस्तो भनीकन हिमाल्तिर दिव्य योगी ।
हीँडे ति ब्राम्हण भए मन राज भोगी ।।७४।।

आजै भयो अति अबेर विचारमाहाँ ।
भोली खरीद गरुँला म फलाम याहाँ ।।
सूवर्णको अनि बनाउँछु धेर भारी ।
भन्दै बिताइ सब रात बिहन पारी ।।७५।।

नित्यैकरम् गरि गए तिनि ता बजार ।
भाऊ पुछे तिनि फलाम दुकानदार ।।
बोल्यो छ एक रुपयाँ पनि चार सेर ।
बढ्ला भन्यो यक दलाल् नगरेर देर ।।७६।।

हे देव ब्राम्हणजि सात् दिन बीति भाउ ।
सस्तो हुनेछ यहि तेब्बर फीरि जाऊ ।।
यस्तो सुनेर अहिले छ बहुत दनि ।
बित्नेछ सात् दिन सहज् पछि आउ लीन ।।७७।।

साँचै भने यिनि दलाल भनेर मन्ले ।
घर्मा फिरेर अनि पाँच्दिन बीति तिन्ले ।।
पूछे बजार गइ आठ् तहिँ भाउ सेर ।
बोल्यो वणीक उहिबीच दलाल फेर ।।७८।।

बुझ्नोस ब्राम्हण यहाँ दिन बीति बीस ।
हूनेछ चौबर फलाम् अझ भाउ बेस ।।
सूनेर यो वचन ब्राम्हण उक मैन्हा ।
धेरै छ जाउँ पछि नै लिउँला दि बैना ।।७९।।

एकै पटक् बहुत धेर बनाउँ सून ।
भन्ने विचार् गरि फिरे बुझ भाइ गून ।।
यसतो गरीगरि भुले नबनाइ सून ।
लाग्थ्यो अनी बहुत बेर् दिन बित्न कून ।।८०।।

मैन्हा त एक घडि बाँकि थियो नि हुन ।
हीसाब् गरेर ति झसङ्ग भएर घून ।।
लागी सकेछ अब जान्छु बजार जून ।
मिल्नेछ भाउ लिइ निश्चय पार्छु सून ।।८१।।

भन्दै ति हिँड्न ततपर् ननिको शकून ।
भैगो ति आइकन योगि लगाइ धून ।।
मागे बित्यो घडि उ पारस के गरून ।
दीए पश्चात् गरि गरी द्विज लागि रून ।।८२।।

जोगी हिँडे ति सुन भाइ चुकेर बेला ।
अप्शोच ब्राम्हण परे चुकि पर्छ फेला ।।
झीलिक्क बजिलिसरी दिन बित्छ भाई ।
सारांश यो बुझ शरीर् मणिरूपि पाई ।।८३।।

ईश्वर् प्रभू भजछु म चर्णमाहाँ ।
भन्दै बिताइ दिन अन्त्य तुल्याइ याहाँ ।।
हूनैछ फेर पछुता कहिले मगन्मा ।
श्रीरामको भजन तत्पर हुन्छ मनमा ।।८४।।

के गर्नु है तर दलाल्रुपि वासनाले ।
यो दीललाई बहकाउँछ कामनाले ।।
देख्दैन मर्ण नजिकै त उमेर जाहाँ ।
मेरो छ धन् पनि कमाउन बख्त याहाँ ।।८५।।

पाल्नै स्त्री बालखकनै अब धन् जमाई ।
श्रीब्रम्ह भज्छु भनदै पनि अन्त्य आई ।।
फेरमा परे झइँ ति ब्राम्हण रत्न पाई ।।
पर्छन् मनुष्य पछुता सब हाइहाई ।।८६।।

यूधिष्ठिरनृपले भनी यहि प्रकार् दृष्टान्त वैरागभरी ।
संसार् यो भर शोकको घर बुझी निश्चय सबैले गरी ।।
हीँडेथे तहिँ भार् परीक्षितजिको सुम्पेर झर्ना झरी ।
ठण्डा पानि हुने हिमालय गुफा वन्मा तयारी परी ।।८७।।

यो सारा पनि हाल हो बुझ सबै जो भरतै रण् लडी ।
छत्तिस् वर्ष पछी यि दुर्घट भयो यादव् मरी सब् गडी ।।
अर्जुनलाई त काल्प्रभाव् भिल जिते को बुझ्छ लीला जति ।
शेषको गम्य छईन नाम् जपि फगत् हूनेछ हाम्रो गति ।।८८।।

ईश्वरको नामदेखि क्यै, छैन निस्तार् कलीमहाँ ।
सक्दैनौ गर्न तप् दान, नाम तार्नेछ भर् यहाँ ।।८९।।

।। मोसलपर्व समाप्त ।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित