कृपले भनेको सन्धि नमानी शल्य सेनापति, ठूलो युद्ध, शल्य वध, दुर्योधनबाहेक
अरू भाइ र उलूक शकुनी सबैको वध, रातमा सुयोधन विलाप, सञ्जय भेट, डिल्ली खबर् पठाई जल्मा लुक्नु, कृप–अश्वथामा तलाउमा आई भाग्नु, युयुत्सुले रानीहरूको डिल्लीमा लगी शोक

बितेर तहिँ सत्रहै दिनभयो अठारौँ अनि ।
पुगे नजिक दुरजोधनसँगै तहाँ कृप् पनि ।।
ति पाण्डवसँगै भने गरन सन्धि आजै भनी ।
सकेभर गरी तहाँ तिनिकनै बुझाए पनि ।।१।।

परन्तु उस बातमा मन नदेर दुर्योधनै ।
कहे सुन्नुहोस् गुरो बहुत हीत हो सत्य नै ।।
गरूँ तर यहाँ कसो ठिक छईन यो बात् कुनै ।
म देखदिन क्यै असल् मइँ हुँ दोषको मूल नै ।।२।।

यहाँ अब असम्भवै नजर देख्छु सन्धी हुनै ।
कसोगरि म पाण्डवै अधिन दुख् सहूँला कुनै ।।
बहूत  दुख ता दिएँ कसरी बिर्सि गर्छन् क्षमा ।
दया गरनभो कठिन् यिनि कुराहरूले ममा ।।३।।

न भीमसिनको रिसै छुटछ येस जन्मै पनि ।
मरेर अभिमन्यु ता किरिटि कृष्ण रीस्ले अनि ।।
दुखी भइ ति क्रोध छन् कसरी मान्दछन् ती यहाँ ।
हुँदैन अब सन्धि ता म पनि जान्छु प्यारा कहाँ ।।४।।

गए पनि ति हामरा भिषम द्रोण कर्णै जहाँ ।
म जान्छु उस ठाममा कि त मिले सहायै यहाँ ।।
तपाइँहरुले दिए वध ति पाण्डवै गर्दछू ।
नराखि पृथिवीमहाँ चयन गर्छु की मर्दछू ।।५।।

भनेर बात् तहाँ चलि गएर सूयोधनै ।
बहूत मधुरो बनी वचन अश्वथामाकनै ।।
कहे सुनन हे गुरूपुतर तीमि देखी बढी ।
सहाय हित पूज्य क्वै अब त छैन यो ता घडी ।।६।।

बताउनुहवोस् गरूँ कउनलाई सेनापति ।
बनाइकन हुन्छ जीत् भनि पुछे तहाँ भूपति ।।
ति द्रोणगुरु पुत्रले नृपति शल्य सेनापति ।
बनाउनुहवोस् भनी तहिँ दिए तिनी सम्मति ।।७।।

गए ति नृप शल्यका सँगमहाँ अनी भूपति ।
भएर नमरित् कहे बननुहोस सेनापति ।।
सुनी वचन शल्यले नगरि फर्क माने रती ।
अनी त अभिशेष् गरे विधि गरेर शास्त्रै जति ।।८।।

जयैजय कहे सबै फउज कौरवैका अति ।
भए खुसि ति शल्यको मिलि गएर सेनाति ।।
उतातिर सबै जना मिलि युधिष्ठिरै भूपति ।
खडा रहि श्रिकृष्णसङ् पुछिलिए तहाँ सम्मति ।।९।।

उसै तरफ शल्यले फउज जङ्गिलाठ् काम् जति ।
लिए अब गरूँ कसो सुनि वचन् तहाँ श्रीपति ।।
हुकूम भइगो खुबै बल छ शल्यसङ्मा अति ।
शिखण्डि अरजून भीम् शकति छैन यिन्को कति ।।१०।।

लडाइँ गर्नुहोस् हजुर राखि ती सङ् गुदी ।
गर्यो हजुर पालि यो अघि सरेर मार्नोस् खुदी ।।
ति शल्यकन मार्नुहोस् धरम राखि खूब् कीरति ।
सफाइ पनि हेर्दछौँ भिषम द्रोण कर्णै जिती ।।११।।

अगाध तरि सागरै यस घडी तयारै परी ।
कहीँ अब यि शल्य रूप् नदिमहाँ अगाडी सरी ।।
नडुब्नु सब भाइ ली कहनुभो हँसी मुख् हरि ।
युधिष्ठिरहरू पनि सुनि हँसे ति खितखित गरी ।।१२।।

हिँडे अनि फऊज ली सब जना ति मैदान् भरी ।
पुगे नृपति शल्य फेर फउज लीइ हावासरी ।।
हुकूम अनि ता दिए लडन फौजका खूब् गरी ।
लडे ति रण बेसरी डर नमानि दूवै थरी ।।१३।।

युधिष्ठिरऽधिराजले नृपति शल्यसाथै लडे ।
तहाँ ति अरजुन् भने कृतवरम्सँगैमा भिडे ।।
गएर कृप सङ्ग भीम् उस बखत् समर्मा चढ् ।
गई नकुलचाहिं ती शकुनि साथमा खूब भिडे ।।१४।।

म मार्छु सहदेवले कहि उलूक सम्मुख् बढे ।
युधिष्ठिरजिको दिकै गरि दिएर शल्यै लडे ।।
सबै शरिर भर् भयो बहुत घाउ ठूलो बडा ।
घुसेर शर छातिमा अति भए ति व्याकुल् कडा ।।१५।।

सुशोभित पहाडमा रुख झइँ भए बाण् खडा ।
यि बात् भिमसेनले नजरले त देखी पिडा ।।
उठेर रिस रोमरोम् दगुडि जल्दि हाने गदा ।
भयो ति नृपशल्यको रथ र अश्वको टूकडा ।।१६।।

वृकोदरकनै अनी लिइ ति तोमरै जोडले ।
प्रहार तहिँ छातिमा तिनि गरे घुस्यो तोडले ।।
तथापि भिमसेनले नलिइ कष्ट उत्निख्यरै ।
चलाय नृपशल्यमै झिकि तहाँ उही तोमरै ।।१७।।

मर्यो तब त सारथी नृपति शल्य छक्कै परे ।
ति पाण्डव फउज् अनी गरजि सिंहनादै गरे ।।
त्यजेर रथ शल्य फेर् लिइ गदा भुर्इँमा झरे ।
गदा खुब चलाउने विर यि हून आगे सरे ।।१८।।

वृकोदर ति शल्यको रण भयो अघोर् जोडले ।
गदा रण घुमी गरे अति अबेर तक् तोडले ।।
तहाँ यकहि साथ् पछी शिरमहाँ प्रहारै गरे ।
दुवै ति विर फेर् अनी बहुत लागि बेहोस् परे ।।१९।।

गिरेर कृपचार्यले झट गए उही छिन्महाँ ।
उठाइ नृप शल्यको रथमहाँ त राखे तहाँ ।।
बसाइ रणदेखि ता दुर लगे गुरूले अनि ।
छुटेर मुरछा दुवै गरजि गर्जि स्वर्ले पनि ।।२०।।

गदा लि ललकार् गरे नृपति शल्यको भीमसेन् ।
ति शल्य अरको चढे रथमहाँ रिसै मुख् मलिन् ।।
युधिष्ठिरसँगै गए लडनलाई आगे सरे ।
सबै विर समीपमा वचन ता युधिष्ठिर् गरे ।।२१।।

म प्राण नगरेर आस् सुनन वीर मामा यहाँ ।
कि मार्दछु कि मर्दछू सब विचार बात् मनमहाँ ।।
छ धेर अझ शल्यसङ् फउज हेर सामान् पनि ।
तयार छ बहूत कम् यस घडी त हाम्रो अनि ।।२२।।

म भन्छु यस नीमती रथ अगाडि भीम्सेन् बसुन् ।
मलाई अरजूनले पछि बसेर रक्षा गरुन् ।।
नकूल सहदेवले जतन पाँगराको धरुन् ।
म मार्छु स्वरगै चलुन् नृपति शल्य ता वीर हुन् ।।२३।।

यही हुकुमको सरी विर बसे सबै ठामठाम् ।
गरे रण अघोर भो नृपति शल्यले खूब काम् ।।
बहूत विरको पनि वध गरे ति एक्लै ति ता ।
ति बाण शिर काटथे जलदि शल्य शत्रू कि ता ।।२४।।

बढेर रिस बाणबाण् गरिदिए छिनैभर्महाँ ।
युधिष्ठिरजिलाई खूब् पिडित पारिदीए वहाँ ।।
अनी श्रि भिमसेनले नृपति शल्यमाथी तसै ।
चलाई शर सारथी वध गरे ति घोडा जसै ।।२५।।

धनूष पनि काट्दिए नृपति शल्य फेर् क्रोध्महाँ ।
लिएर तरवार ढाल् झट पुगे युधिष्ठिर्कहाँ ।।
युधिष्ठिरजि आँख लाल् गरि थिए बहुत् रीस्महाँ ।
नचाइकन ओठ मुख् शरिर काँपथ्यो सब् तहाँ ।।२६।।

तसै बखत शल्यसङ् बढि पुगे वृकोदर् अनि ।
गरे उ तरवार टुक् उहि ठुटो त तरवार पनि ।।
लिई झमटि शल्य झट् पुगिगए युधिष्ठिर्कहाँ ।
ति हान्न तरवार् ठुटो ततपरै थिए फेर् वहाँ ।।२७।।

युधिष्ठिरजिले लिए शकति वीकरालै धरी ।
भुतुक्क भइ वेगले रिस चढेर आँखा तरी ।।
प्रहार गरि शल्यको अब मर्यौ त मामा भने ।
छटक्क शिर भै गयो नृपति शल्य मृत्यू बने ।।२८।।

र कौरव फउज् डरी बहुत ताहिँ हाहा गरे ।
घुमाय भिमसेन् गदा फउज पाण्डवै खुस् परे ।।
बजाय यक सोरले करमहाँ त शङ्खै धरी ।
भए मगन हर्ष सब् फउज सिंहनादै गरी ।।२९।।

युधिष्ठिरजिको अनि अघि सरेर फेरी हरि ।
बडाइँ सब फौजले अति गरे ति ताडिफ् गरी ।।
मरे ति नृप शल्य जब् फउज कौरवै खल्बली ।
जता मुख थियो गए उतइ भागदै नीकली ।।३०।।

किरीटि भिमसेनले नदिइ भागनै नाश् गरे ।
सुयोधन नजर् परी बहुत दीकदारै परे ।।
सकेभर त रोकनै फउजलाई चेष्टा गरे ।
परन्तु नरुके रती फउज भागदै प्राण् धरे ।।३१।।

अगाडि गइ भाइ फेर् फउज बाँकि रक्षकहरू ।
लिएर भिमसेनको दगुरि झट्ट तीनीहरू ।।
चऊतरफ घेर दी अति तिखो लिए बाण् धरी ।
चलाई तर भीमसेन् डटिरहे नकिञ्चित् गरी ।।३२।।

लड रण अघोर् पर्यो भिम रिसाइ घोडा अनि ।
गरेर वध सारथी रथ बिगारिदीए पनि ।।
चढेर तहिँ अश्वमा नृपति दूरजोधन् वहाँ ।
बचाइ जिउ भागदै पुगि गए शकूनीकहाँ ।।३३।।

यता ति धृतराष्ट्रका जिवित बाँकि छोरा तिनी ।
गरे वध ति भीमसेन् लिइ गदा सकेभर् बिनी ।।
झरेर भइँमा अनी सकल फौज नाशे तहाँ ।
श्रिसूर्य असतै हुनू दुइ घडी थियो दिन् वहाँ ।।३४।।

मिलेर दुइ भाइ फेर् किरिटि भीमसेनले अनि ।
मनुष्य गज अश्वको नगरि बाँकि मारे पनि ।।
नजर् परिगयो सबै शकुनि अश्वथामा जसै ।
मिलेर कृप मुर्मुरी नजिक फेरि आए तसै ।।३५।।

अघोर गरि बाणता बहुत हान्न लागे तिनी ।
फिर्यो अघि त भागने फउज साहसैले चिन्ही ।।
विचार तिनले गरे नगरुँ कातरैपन् बनी ।
विरैगत हिँडू बरू भनि लडे दिई प्राण् पनि ।।३६।।

बहूत रण जोड भो यसरि युद्ध क्वै दिन्महाँ ।
भएन किन है भने नृपति दूरजोधन् वहाँ ।।
फऊजहरु प्रणको नगरि आस लड्थे तसै ।
नकूल विरले उलूक् शकुनिपुत्र मारे जसै ।।३७।।

पुर्याय यमपूरमा शकुनिले किट्यो दाँत् ठुलो ।
गरी पुतरशोक धेर् बहुत बाण छाड्यो मुलो ।।
श्रिसूर्य डुबनू तसै अलिकती थियो बेर् पनि ।
अकाश तहिँ लाल् हुँदै गइ चल्यो हवा जोर् अनि ।।३८।।

वहाँ श्रिसहदेवले शकुनिको त घोडा चिरे ।
धनूष अनि काटदी जलदि सारथी वध् गरे ।।
लि ढाल तरवार झट् शकुनि कूदि भैँमा चली ।
गयो उ सहदेव् तरफ् जसरि जान्छ रोग् बेग ली  ।।३९।।

असाध्य भइ कालका मुख तरफ् गएझैँ सर्यो ।
बढेर शकुनी पुग्यो नगरि बेर रण् खूब् गर्यो ।।
ति वीर सहदेवले शर सुवर्णपुच्छ्रित् धरे ।
दिएर दिक खूब् अती शकुनिलाई व्याकुल् गरे ।।४०।।

लिएर तरवार ढाल् कुदि गएर झम्ट्यो तहाँ ।
तथापि सहदेवले टुक गरे उ तरवार वहाँ ।।
लिएर उहि टूकडा शकुनिले त तरवार अनि ।
बढ्यो शकुनि वेव फेर् झमटि सिंहजस्तै पनि ।।४१।।

पुग्यो तर नजीक त्यो अरधचन्द्र बाणै वहाँ ।
लिएर सहदेवले शकुनिलाई हाने तहाँ ।।
कटेर शिर ढुल्कँदै गिरिगयो जमिनमा झरी ।
प्रसन्न सबले भए तिनिकनै त ताडीफ् गरी ।।४२।।

श्रिसूर्य अनि डुब्नुभो उदय हून वीदेश्हरू ।
ति फेरि अरजून भीम् नकुल धृष्टद्युम्नै अरू ।।
मिलेर सबले अनी मरण तुल्य घिर्घिर्हरू ।
मलीन विचरा फउज् वध गरे सबै खुर्खुरू ।।४३।।

चऊतरफ घेरदै निरदयी झईँ रात्महाँ ।
नछाडिकन जो मिल्यो गज मनुष्य घोडा तहाँ ।।
रथी र विर सारथी नदिइ भागनै ता तबै ।
नराखिकन एक् विना घुमिघुमी गरे वध् सबै ।।४४।।

बजाय सब शङ्ख फेर् बहुत नाचि सिंहै सरी ।।
गरेर पनि बातचीत् चलिगए शिविर् खुस् परी ।।
उता नमरि एक् थिए उस घडी सुयोधन् तहाँ ।
अधीक तहिँ रात् पर्यो मृतकको त ढिस्कोमहाँ ।।४५।।

थियो रगत पोखरी झइँ खडा थिए ती तहाँ ।
अनाथ दुखि दीलझैँ लिइ गदा उ रातीमहाँ ।।
विचार् गरिगरी थिए उसबखत् दशाको गुनी ।
अनूभव ति गर्दथे शब्द घायलैको सुनी ।।४६।।

खुखेर खुब पीर भै अहअहा त गर्थे वहाँ ।
ति आफनु गुरू अनी पुतर मित्र बाजे तहाँ ।।
सबै मरण सम्झदै बहुत दिक् सुयोधन् बनी ।
नजर्भरि त आँसु है बहिगयो तिनीको पनि ।।४७।।

गदा उपर काँधमा पुछि लि आँसु छाती जरी ।
हिँडे तिनि कतैकतै रगत धार पारै तरी ।।
कतै कहिँ उ रातमा मृतक हात्ति माथी गिरे ।
लडी परिगई कतै अलझिअल्झि रथमा परे ।।४८।।

कतै मृतकमा हिँडे कहिँ ति घायलैमा चढे ।
कतै मृतक पाउमा परि गएर दूरै लडे ।।
गिरे कहिँ रगत्महाँ कहिँ ठुलो निशाचर् मिल्यो ।
गिरे कहिँ त आङ्भरी रगत मासु लाग्यो गिलो ।।४९।।

कुनै तरह पार् भए समरभूमि छोडी अनि ।
खुला ति मइदान् पुगे नृपति दूरजोधन् पनि ।।
मिले वहिँ श्रिसञ्जयै खबर धृतराष्ट्रैकहाँ ।
ति दीनदिन लाग्दथे समर बात डिल्लीमहाँ ।।५०।।

उसै निमति आइ भेट् भइगयो त संयोगले ।
सुयोधन थिए विकल् पिडित भेर खूब् घाउले ।।
ति पैदल अनी रगत् भरि त गाथ् दुखी झैँ गति ।
ति सञ्जय नजर् परी गरिलिए विलापै अति ।।५१।।

ति रोइ अधिरै भए नृपति दूरजोधन् अनि ।
पुछे किन तिमी यहाँ यस घडी त आयौ भनी ।।
सुनी वचन सञ्जयै नृपति सङ् कहे फेर् तहाँ ।
चलेँ म अहिले पनि पकडि सात्यकीले यहाँ ।।५२।।

मलाई वध गर्दछू भनिकनै हतीयार् लिए ।
प्रकट् भइ उसै बखत् मुनिजि व्यास् छुटाईदिए ।।
म जान्छु अब डिल्लिमा नृपति धृतराष्ट्रै कहाँ ।
भने वचन यो जसै नपतिले पुछे फेर् वहाँ ।।५३।।

बताउ तिमि सञ्जये नमरि बाँकि हाम्रा कति ।
फऊज विरहरु छन् सुनि वचन् त बाँकी यति ।।
श्रिव्यास छन भन्दथे भनि कहे तिनीले वचन् ।
जिवित् कृतवरम् अनी कृप र अश्वथामा त छन् ।।५४।।

सुनी कर धरी तहाँ नृपतिले भने फेर् वचन् ।
सुन्यौ तिमिविना फगत् अब त को दया राखलान् ।।
सहाय पनि छैन है जिवित कोइ हाम्रो यहाँ ।
गमेर तिमिले कहे सब कुरा बुबाज्यू कहाँ ।।५५।।

सुयोधन फगत् बचे पुतर मित्र भाई मरी ।
वहाँ अझतकै त छन् नमरि बाँकि संसार् तरी ।।
भएर खुब घाउ धेर् बहुत व्याकुलै भै वहाँ ।
जिऊँदइ त रण् त्यजी लुकिगए तलाऊमहाँ ।।५६।।

दिए खबर यो भनी अति उदास भै मन् अनि ।
विद्या अधिक जान्दथे खुब अगाध् समुन्द्रै पनि ।।
ति स्तम्भन त गर्दथे जल तुल्याइ दास्कै सरी ।
पसे नजिक एक् थियो तहिँ तलाउ ठूलो भरी ।।५७।।

सुते भितर जल्मुनी कउन देखथ्यो फेर् वहाँ ।
विचित्र पनि यो छ हाल् जउन दूरजोधन्कहाँ ।।
सहस्र तहिँ जोडथे नृपति हात आदर् गरी ।
खडा रहि त बस्दथे युरुप एसिया देश्भरी ।।५८।।

सबै मुलुक काँपथ्यो नृपतिहरु वश्मा परी ।
उ चक्रवरती अहो यसबखत् ठुलो डर् गरी ।।
ति भागि यकलै बसे जलमहाँ दुखैले पिरी ।
भनी मन रुँदै चले हृदय सञ्जयेले चिरी ।।५९।।

मिले तब उ तीन्जना कृप र अश्वथामा अनि ।
श्रिकृतवरमा भगी रथ चलाई आए पनि ।।
ति भेट भइ फेर् पुछे भनन आज लौ सञ्जये ।
सुयोधन गए कहाँ जिवित छन् कि स्वर्गै गए ।।६०।।

कऊन गत भो भनी वचन सञ्जयैले सुनी ।
दिखायर सबै कहे नृपति छन् जलैका मुनि ।।
द्विपायन तलाउमा लुकदछन् सुयोधन् भनी ।
गए तिनिहरू तहीँ बहुत दीकदारै बनी ।।६१।।

पुगेर ति किनारमा मलिन मूख व्याकुल् परे ।
बसेर ति अधीर भै रुदन फेरि सब्ले गरे ।।
उसै बखत खोजदै फउज पाण्डवै त्यैतिर ।
हिँडेर जब आइगो नजरले त देखे पर ।।६२।।

गए दुर तिनै जना बितछ काम् भनी फेर् मनै ।
पठाय कृपको तहाँ रथमहाँ त सञ्जय्कनै ।।
कऊरव फऊजको तिनि गए शिविर्मा दिकै ।
थिए तहिँ त नोकरैहरु त हेर्दथे मालिकै ।।६३।।

विचार् गरिगरी थिए अझतकै फिरेनन् भनी ।
पुगेर अनि सञ्जयै तहिँ भने मरे सब् पनि ।।
गए नेपति कालका जति थिए मुखैमा जली ।
ति हाय गरदै रुए वचन सूनि सम्झी गली ।।६४।।

थिए शिविरमा पती सँगइ आइ रानी जति ।
विलाप गरदै रुँदै हृदय चिर्न लागे कति ।।
पिटेर तहिँ छाति क्वै लडिबुडी विचेत् पर्दथे ।
पिटीपिटि शिरै कती हृदय भै अचेत् गिर्दथे ।।६५।।

स्त्रीहरु कति व्याकुलै रउँ उखेलि शोक्ले जले ।
यताउति सबै तहाँ कदलि काटदा झैँ ढले ।।
छिटेर जल व्यञ्जनै बहुत हाँकि चेतै परे ।
ति नोकर घरै अनी लिइ त रानि प्रस्थान् गरे ।।६६।।

गया मुलुक आफनू मन तुल्याइ दिक्दार्महाँ ।
सुयोधनजिका पनि जति थिए ति सेवक् वहाँ ।।
लिई श्रिमहरानिको हिँडिगए ति डिल्ली मलिन् ।
कुनै दिन थियो सुरज् जगतनाथ देख्नै कठिन् ।।६७।।

उ रानि अहिले अहा दुख परी यसोरी चलिन् ।
वनेचर र गोठालाहरु सँगै ति बातै गरिन् ।।
यि देश वन नाम् कहू अमुक देश बाटो कवन् ।
भनेर मुख धेर् मलिन् कवरि फूकि नेत्रै रुदन् ।।६८।।

अमूक अब देश् कती पर छ लौ भनी सोधथिन् ।
रुवाइ सबको पुछीपुछि ति रानिहेरू हिँडिन् ।।
युयुत्सु उपपत्निका पुतर धृतराष्ट्रैजिको ।
गरे विनति देखि त्यो उस घडी युधिष्ठिर्जिको ।।६९।।

चले प्रभु विलाप् गरी सकल कूरुकुल् स्त्रीहरू ।
पुर्याइ डिहली फिरूँ हुकुम बक्सिए मै बरू ।।
भने हुकुम दीनुभो रथमहाँ युयुत्सू चढे ।
ति रानिसँग झट् गई डिहलितर्फ लीई हिँडे ।।७०।।

निकट् जब तिनी पुगे विदुर मीलि एक्एक् गरी ।
युयुत्सु विरले भने मिरतु कौरवैका थरी ।।
सुनेर ति अधीर भै विदुर रोइ दिक्दार् परे ।
अनी ति महरानिको महलमा त दाखिल् गरे ।।७१।।

सुनेर दरबारमा सब जना विचेतै परे ।
विलाप अहहा भनी नृपति धृतराष्ट्रै गरे ।।
बुहारि बिचमा रुँदै बसि गइन् नि गान्धारि ता ।
बिचेत भइ होस् भए बहुत बेरमा सब् ति ता ।।७२।।

।। इति शल्यपर्व समाप्तम् शुभम् ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित